खिमराज चालिसे, चण्डीगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको विभिन्न स्थानमा संगठनात्मक गतिबिधि निरन्तर जारी राखेको छ । सोही अभियान अन्तरगत एकता समाज हिसार नगर समितिद्वारा सञ्चालित सिटि एरिया ‘बी’ अन्तर्गत हाउजिङ बोर्ड कलोनीमा ११ सदस्यीय टोल समिति गठन गरिएको छ ।
केन्द्रीय सल्लाहकार तारा सोमरे र जनजाती विभागका नगर संयोजक केहरसिंह घर्ती मगरको विषेश उपस्थितिमा भेला सम्पन्न भएको हो ।
भेलामा मूल प्रवाहको विधान तथा घोषणापत्रबारे नेपालीहरूलाई प्रशिक्षण दिइएको थियो । छलफल पश्चात दुर्गा मगरको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरिएको छ ।
समितिको सचिवमा सीता सुवेदी, कोषाध्यक्ष तिलक राजकोटी र सदस्यहरुमा क्रमशः अनिल मगर, दुर्गाबहादुर रास्कोटी, हिमबहादुर मगर, दुर्गा बहादुर, नारायण सुवेदी, सीता बलाल, मनिषा र एक स्थान हाललाई रिक्त राखिएको छ।
मनबहादुर घर्तीमगरको सञ्चालन तथा अनिल मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको केन्द्रीय सल्लाहकार तारा सोमारेले जानकारी दिनु भयो।
भारतमा केही समयदेखि कोरोना संक्रमणमा आएको कमी तथा भारत सरकारद्वारा दिइएका छुटहरुलाई प्रयोग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कैयौं नगरहरुले संगठनलाई व्यापक जनस्तरमा पुराउने उद्धेश्यका साथ संगठन र प्रशिक्षण अघि बढाएको मूल प्रवालले जनाएको छ ।

