काबुल । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने प्रक्रिया अघि बढाइएको भनी समाचार आइरहेका बेला यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन माग गरेको छ ।
अमेरिकी सेनाको आगमनसँगै करिब दुई दशकदेखि आफ्ना गतिविधिलाई प्रभाव क्षेत्र र ग्रामीण इलाकामा चलाउँदै आएको तालिबान समूहका एक नेताले एपीसँगको कुराकानीमा तालिवानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताए । शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हुनुपर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नुपर्ने तालिबानले माग गरेको छ ।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा तालिबानमा प्रवक्ता सुहेल साहिनले अफगानिस्तानको भविष्यलाई लिएर तालिबानको अडान स्पष्ट पार्नुभएको हो ।
तालिवानले विभिन्न देशसँग गरिरहेको वार्ताको प्रतिनिधि मण्डलका सदस्यसमेत रहेका साहिनले एपीसँग भन्नुभयो– ‘वार्ताको माध्यमबाट सबै पक्षलाई स्वीकार्य हुने सरकारको वातावरण बनेको र अशरफ घानीको सरकार हटेमा मात्रै तालिबानले हतियार बिसाउने छ । तालिबानको स्पष्ट धारणा के हो भने हामी सत्तामा एकाधिकार चाहँदनौँ† किनकि विगतमा जति पनि सरकारले सम्पूर्ण शक्ति आफ्नो हातमा लिने प्रयास गरे उनीहरू सबै असफल बने ।”
तालिबान असफल बन्न चाहन्न । सरकार र विपक्षीको मिलनविन्दु नयाँ समीकरणसहितको संयुक्त सरकार हुन सक्ने उहाँले बताउनुभयो ।
विगतमा तालिबान नेतृत्वको सरकारलाई पनि असफल भएको स्वीकार्दै फेरि पनि त्यहि फर्मुला दोहो¥याउन नचाहेको साहिनले बताउनुभयो ।
राष्ट्रपति अशरफ घानीका सम्बन्धमा कुनै पनि सम्झौता नगर्ने तालिबानको धारणा रहेको छ । मङ्गलबार बकरिदको अवसरमा राष्ट्रपति घानीले आफ्नो भाषणको क्रममा तालिबानमाथि देशव्यापी आक्रमण गर्ने बताउनुभएको थियो । प्रतिउत्तरमा तालिबानले घानीलाई “युद्धका व्यापारी” को सङ्ज्ञा दिएको थियो ।
तालिबान नेता साहिनले घानीले सन् २०१९ को निर्वाचनमा धाँधली गरी सत्तामा पुगेको दाबी गर्दै जनमत अर्कैतिर रहेको दाबी गर्नुभयो । देशमा शासन गर्ने अधिकार घानीले गुमाइसकेको उहाँको तर्क थियो ।
तत्कालीन निर्वाचनमा घानी र उहाँका प्रतिस्पर्धी अब्दुल्लाह अब्दुल्लाह दुबैले जितको दाबी गर्नुभएको थियो । पछि सत्ता समीकरण बन्दा दुईबिच सम्झौता भएको थियो । सम्झौतानुसार अब्दुल्लाहलाई सरकारमा दोस्रो नम्बरको स्थान दिइयो र वार्ता समितिको प्रमुख बनाइएको थियो ।
अफगानिस्तानबाट अमेरिकी तथा नेटो सैनिकको अन्तिम समूह फिर्ता हुने क्रम जारी रहँदा तालिबानले आफ्नो पकड विस्तार गर्दै लगेको छ । हालै अमेरिकी सैनिकका उच्च अधिकारी जनरल मार्क मिलीले रक्षा मन्त्रालय पेन्टागनमा भएको पत्रकार सम्मेलनमा तालिबानले रणनीतिक बिस्तार हाँसिल गरेको बताउनुभएको थियो । (रासस/एपी)





