जेनेभा । सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्र सङ्घ चिन्तित रहेको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गर्दै सो जानकारी दिनुभएको हो ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका सहायक प्रवक्ता फरहान हकले प्रकाशन गरेको विज्ञप्तिमा सिरियामा पछिल्लो समयमा उत्तर–पश्चिमी क्षेत्रमा हिंसात्मक हमला र आक्रमणका घटना बढेकोमा चिन्ता व्यक्त गरिएको छ ।
हिंसाबाट सिरियाली नागरिकको ज्यान गएको छ । त्यहाँका बालबालिका र महिला पनि समस्यामा परेको देखिएको छ भन्दै संयुक्त राष्ट्रसङ्घले सो हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेको छ । विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा पछिल्ला हप्तामा मानिसमाथि भएको हिंसाको निन्दा पनि गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घले यस्ता हिंसात्मक गतिविधि तत्कालै रोक्न र त्यहाँ शान्तिसुरक्षाको अवस्था कायम गर्न पनि माग गरेको छ । ती हिंसामा परी महिला र बालबालिकाको ज्यान गएको र ती स्थानको पछिल्लो अवस्था निकै नाजुक रहेको भन्दै त्यसप्रति सहायक प्रवक्ताले सबैको ध्यानकर्षण गराउनुभएको हो । (रासस/सिन्ह्वा)





