दमास्कस । बुधबारको मध्यरातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सिरियाको मध्य सहर होम्समा इजरायली सेनाले सो हमला गरेको हो ।
सिरियाको समाचार समिति सानाले सो समाचार दिएको छ । सानाका अनुसार गत राति मध्यदेखि सिरियामा सो हमला भएको हो । सो हमला इजरायली सेनाले गरेको पुष्टि भएको पनि बताएको छ । मध्य सिरियाली सहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ । त्यसबाट भएको हताहतको समाचार भने आएको छैन ।
ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ । केही दिनयतादेखि इजरायलले सिरियामाथि हमला गरिरहेको छ । गत सोमबार मात्र पनि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो ।
यस विषयमा सिरियाले भने कुनै प्रतिक्रिया दिएको छैन । सिरियामा अहिले पनि हिंसा जारी रहेको छ र विभिन्न हिंसात्मक समूहका कारण नागरिकको ज्यान जाने क्रम जारी छ । (रासस/सिन्ह्वा)