जेनेभा । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार इराकको राजधानी बगदादमा भएको हमलाको निन्दा गरेको छ । बुधबार राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सो हमलाको निन्दा गरेको बताइएको छ ।
राजधानी बगदादमा सोमबार भएको सो आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जना मानिसको ज्यान गएको थियो । हमलामा परेर अरू करिब ५० जनाजति नराम्ररी घाइते भएका थिए । दिउसो भएको सो हमलामा परी यहाँका निर्दोष सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यहरूले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो हिंसात्मक घटनाको निन्दा गरेका बताइएको छ । ती सदस्यले उक्त हिंसात्मक हमलामा परेर ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
त्यसैगरी उक्त हलमामा जिम्मेवार व्यक्तिलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् । सोमबारको सो हिंसात्मक हमलाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ । (रासस/सिन्ह्वा)