बगदाद । इराकको राजधानी बगदादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएकोे छ ।
बगदादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुको साथै अन्य ६६ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ्र । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने जनाइएको छ ।
इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिहमी सुरक्षा र गुप्तचर निकायका अधिकारीसँग यस भिषण आक्रमणको विषयमा छलफल सुरु गर्नुभएको सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा कादिहमी आक्रमणका पीडित परिवारलाई सहयोग गर्ने र आतङ्ककारीको खोजी गर्ने वाचा गर्नुभएको छ ।
इराकी राष्ट्रपति बारहम सलिहले एउटा ट्विटमार्फत इद अल–अधाको पूर्वसन्ध्या भएको यस घटनालाई एउटा जघन्य अपराध र क्रुरता भन्दै निन्दा गर्नुभएको छ । (रासस/सिन्ह्वा)