नयाँदिल्ली । भारत र पाकिस्तानमा सडक दुर्घटना हुँदा भारतमा ७ जना र पाकिस्तानमा २७ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको पन्जाब प्रान्तअन्तर्गत पर्ने डेराघाजी खान जिल्लाको टौन्सा बाइपासनजिकै भएको दुर्घटनाका कारण अरू ३० जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
तीव्र गतिमा आएको बस ट्र्याक्टरको पछिल्लो भागसँग ठोक्किँदा दुर्घटना भएको घटनास्थलमा पुगेका प्रहरीले जनाएका छन् । घटनाका बारेमा थाहा पाउनासाथ प्रहरी र उद्धारकर्ता घटनास्थलमा पुगेका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
घाइतेलाई नजिकैका अस्पतालमा भर्ना गरेर उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।
यता, भारतको उत्तर प्रदेशमा सोमबार बिहानै भएको सडक दुर्घटनामा परी अरू १० जना घाइते भएको बताइएको छ । उत्तर प्रदेश राज्यको सम्बल क्षेत्रमा सो दुर्घटना भएको थियो ।
विपरीत दिशाबाट आइरहेको बस एक आपसमा जुध्दा सो दुर्घटना हुन पुगेको थियो । आपसमा ठोकिएकामध्येको एक बस विवाह समारोहमा पुगेर फर्किएको थियो । (रासस/सिन्ह्वा)





