काठमाडौँ । पुरानै नियम यथावत राख्दै काठमाडौंँ उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप गरिएको छ ।
असार ३१ गते बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त बैठकले साउन १० गतेसम्म जारी निषेधालाई निरन्तरता दिने निर्णय गरेको छ ।
तर निषेधाज्ञा बढाउँदै गर्दा जारी प्रावधानमा फेरबदल भएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक सवारी साधन पहिलेजस्तै चल्ने छन् ।
खालि बाहिरबाट आउने सवारी साधनको हकमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर अर्थात् सिफारिस बनाएर आउनुपर्ने छ ।
‘आवश्यक परेका सार्वजनिक यातायातलाई प्रवेश अनुमति दिने निर्णय गरेका छौँ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मिडियासँग भने ।
बैठकमा काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौलाको उपस्थिति रहेको थियो ।

