नयाँ दिल्ली । दलालले विदेश पठाउने बहानामा दिल्लीमा पुर्याई अलपत्र पारिएकी नेपाली युवतीको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उद्धार गरेको छ । बाग्लुङ ढोरपाटन–२ टाडीकी गीता पौडेललाई एकता समाजले उद्धार गरेको हो।
आइतबार (११ जुन २०२१) का दिन गीता पौडेलले न्याय पाउँ भनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कार्यालयमा निवेदन दिएकी थिइन् । निवेदनमा उल्लेख भए अनुसार भिजिट भिसामा दुवई पठाउन गीतालाई दलालले दिल्ली पुर्याएको थियो । दलालले ३ लाख, ६८ हजार नगद लिएको गीताले बताइन् ।
लामो समयसम्म आफूलाई आनाकानी गर्दै दुवई पठाउन ढिलो गरे पछि पैसा माग्दा उल्टै शारीरिक र मासिक यातना दिने, धम्की दिनेसम्मको कार्य दलालबाट भएपछि आफू बाध्य भएर एकता समाज समक्ष उजुरी दिन पुगेको गीताले बताइन् ।
सो विषयलाई लिएर महासचिव ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, गुडगाव नगर अध्यक्ष रण बहादुर थापा, नगर सदस्य शिव तिवारी सहितको प्रतिनिधि मण्डल र पीडित गीता सहितको उपस्थितिमा हरियाण पुलिस आयुक्तलाई भेट गरी दोषीलाई खोजविन र कारवाहीको माग गरिएको थियो ।
मूल प्रवाहका नेता कार्यकर्ता र गुडगाव पुलिसको सहयोगमा सोमबार (१२ जुलाई २०२१) का दिन गीतालाई सो रकम दिलाइएको छ । गाउँले दाइ गोविन्द महतको जिम्मा लगाई उनलाई स्वदेश पठाइने मूल प्रवाहका उपाध्यक्ष कपिल खनालले जानकारी दिनुभएको छ ।