काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ४४७ नेपालीको ज्यान गएको छ । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातामा साउदी अरबमा १२ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये १ लाख ११ हजार ४७ जना नेपाली कोरोनामुक्त भएका छन्।
समितिका संयोजक डा संजिव सापकोटाका अनुसार शनिवार साँझ (१० जुलाई) सम्म विदेशमा कोरोना संक्रमणबाट ९५ प्रतिशत नेपाली मुक्त भएका छन्।संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।
नेपालमा हालसम्म ६ लाख ५५ हजार ४ सय ४९ जना संक्रमित पुगेकोमा ९४ दशमलव ६ प्रतिशत अर्थात ६ लाख १९ हजार ९४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण शनिवार सांझसम्म ९ हजार ३ सय ८२ जनाको निधन भएको छ।

