महेश रिजाल, भालुवाङ ।
अखिल नेपाल महिला संघका सदस्य लमही नगरपालिका–३ कान्तिपुर कौडिया निवासी सावित्रा ज्ञवालीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । ज्ञवालीको मृत्यु भएको तेह्रौं दिनमा आज राष्ट्रिय जनमोर्चा लमही नगर समितिले शोक सभाको आयोजना गरेको हो ।
शोकसभामा अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले सावित्राको मृत्युले परिवार, आफन्तजन र पार्टीलाई अपूरणीय क्षति भएको छ भन्नु हुँदै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला उपाध्यक्ष महेश रिजाल, सचिव वसन्तराज पौडेल, सदस्य कुलचन्द्र पोख्रेल, अखिल नेपाल महिला संघ दाङ जिल्ला सदस्य चन्द्रकला खनाल, अखिल नेपाल शिक्षक संघ मल्लरानी गाउँपालिका प्युठानका अध्यक्ष कुलराज पौडेल, मृतकका छोरी ज्वाइ टंक प्रसाद पोख्रेल, दीपनारायण अर्याल लगायतले शोक मन्तव्य दिनुभएको थियो ।
राष्ट्रिय जनमोर्चाका नेता तथा ज्ञवाली परिवारका वरिष्ठ सदस्य सालिकराम ज्ञवालीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा जेठा छोरा हुतराज ज्ञवाली, बुहारी शारदा ज्ञवाली, छोरीहरु नर्मदा पोख्रेल, कौशिल्या अर्याल, लगायत इष्टमित्र, भाइ गोतियार, तथा पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मृतक सावित्रा ज्ञवालीको सम्मानमा १ मिनेट मौन धारण गरी तस्बिरमा अबिर तथा पुष्प गुच्छा अर्पण गरि सुरु भएको श्रद्धाञ्जली सभाको सञ्चालन राष्ट्रिय जनमोर्चा लमही नगर समितिका सचिव लेखराज आचार्य र मृतक सावित्रा ज्ञवालीका कान्छा छोरा डा. बालकृष्ण ज्ञवालीले स्वागत गर्नुभएको थियो ।
उहाँको असार १४ गतेका दिन ६७ वर्षको उमेरमा निधन भएको थियो ।