कान्डला । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।
अदालतको मानहानी गरेको अभियोगमा उहाँलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खबर पाएपछि उहाँले आत्मसमर्पण गर्नु भएको जनाइएको छ ।
स्थानीय समयानुसार बुधबार अबेर उहाँ आफ्नो निवास नजिकै रहेको जेल पुगेको उहाँ निकटका अधिकारीहरूले जानकारी दिएका छन । उहाँलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै उहाँले आत्मसमर्पण गर्नु भएको हो ।
सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ वर्षीय जुमाका अझै पनि हजारौँ समर्थक रहेका छन् । उहाँ आफै आत्मसमर्पणका लागि गएको विषयलाइ उहाँका समर्थकले इमान्दारितापूर्वक अदालतको आदेश पालना गरेको रूपमा व्याख्या गरेका छन ।
उहाँकी छोरीले पनि अदालतको आदेश पालनाका लागि आफ्ना पिता जादै गरेको र उहाँको मनोबल उच्च रहेको सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।
दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक भएको जानकारहरूले बताएका छन् । (रासस÷एपी)