काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरविजोर प्रणाली हटेको छ । उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै असार २२ गतेदेखि सवारी साधनमा जोरविजोर प्रणाली हटाइएको हो ।
आइतबार बसेको काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सबै किसिमका सवारी साधनमा जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
यस्तै, अब सबै किसिमका परीक्षा सञ्चालन हुने भएको छ । स्वास्थ्य मापदण्ड अपनाइ २५ जनासम्म परीक्षार्थी उपस्थित गराउन सकिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । २५ भन्दा धेरै परीक्षार्थी भएमा सिफ्टअनुसार परीक्षा सञ्चालन गरिनेछ।
यस्तै, अब काठमाडौंबाट बाहिर जानु परे सम्बन्धित जिल्लाकै पासको आधारमा जान पाउने व्यवस्था पनि प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको छ । बाहिरबाट काठमाडौं आउनु पर्दा जहाँबाट आउने हो त्यही जिल्लाको पास लिएर काठमाडौं आउन पाइने छ ।
अब के के खुल्न बाँकी ?
सोमबार राति १२ बजेपछि लागू हुने निषेधाज्ञामा ६ क्षेत्रमा मात्र रोक लगाइएको छ । प्रशासनले सबै प्रकारका सभा-सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्वीमिङ पुल, खेलस्थललगायतका भिड हुने क्षेत्रमा रोक कायमै राखेको छ । खुला स्थानमा मानिसको भेला, जम्मा हुन, सभा जुलुस र जात्रा महोत्सव गर्न अझै रोक लगाइएको छ ।
पुजारीबाट हुने पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । भौतिक उपस्थितिको पठनपाठनमा अझै रोक लगाइएको छ । स्थानीय ढुवानीका गाडी ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भनिएको छ ।