भियना । राष्ट्रसङ्घीय आणविक ऊर्जा एजेन्सी (आइएइए) का उपमहानिर्देशक मास्सिमो अपारोले अर्को साता इरानको भ्रमण गर्नुहुने भएको छ ।
आइएइएलाई इरानी आणविक कार्यक्रमको सुपरीवेक्षणका लागि अवरोध उत्पन्न भएपछि पहिलो पटक उपमहानिर्देशक त्यसतर्फ जान लाग्नुभएको हो ।
राष्ट्रसङ्घको भियना कार्यालयका लागि इरानका राजदूत काजिम घारिबाबाडीले ट्विटरमार्फत यस्तो घोषणा गर्नु भएको हो । उहाँले आणविक एजेन्सीसँग भएको सम्झौताबमोजिम एजेन्सीले अनुगमन गर्ने र निरन्तर एजेन्सीको सम्पर्कमा इरान रहेको पनि बताउनुभयो ।
युरोपको एक कूटनीतिक स्रोतले पनि आइएइएका उपमहानिर्देशक अपारोले इरान भ्रमण गर्न लाग्नुभएको पुष्टि गरेको छ । इरानको नटान्ज आणविक प्रशोधन केन्द्रमा प्रयोग गरिएका सेन्ट्री फ्युजको अवस्थाका बारेमा अनुगमनकर्तालाई पूर्ण पहुँच दिएको छ/छैन भन्नेबारेमा उपमहानिर्देशकले जानकारी लिनुहुने छ ।
गत अप्रिल ११ मा नटान्ज आणविक केन्द्रमा विस्फोट भएसँगै इरानले आइएइएको पहुँचलाई सीमित गरेको छ । तर आगामी केही दिनभित्रै राष्ट्रसङ्घीय अनुगमनकर्तालाई पूर्ण पहुँच दिइने स्रोतको भनाइ छ ।
इरानले विस्फोटका लागि इजरायलमाथि दोषारोपण गरिरहेको छ ।
आइएइएका प्रवक्ताले इरानी आणविक कार्यक्रमको अनुगमनको सिलसिलामा उपमहानिर्देशक अपारोले नियमित अन्तरालमा इरानको भ्रमण गरिरहनुभएको बताएका छन् । (रासस–एएफपी)