काबुल । अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको सङ्घर्षपश्चात् कन्दहार जिल्लालाई नियन्त्रणमा लिएको छ ।
अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेना विरुद्ध आक्रामक कारबाहीलाई तिब्र बनाएको हो ।
कन्दहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रूपमा लिने गर्दछन् । गत मे महिनादेखि नै अफगानिस्तानका ग्रामीण क्षेत्रहरूलाई तालिबान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सफलतापूर्वक सञ्चालन गरिरहेका छन् ।
काबुलनजिकैको बघराम हवाइ मैदान अमेरिकी र नेटो सैनिकले खाली गरेको दुई दिनभित्रै कन्दहार प्रान्तको दक्षिणी पन्जवाई जिल्लालाई तालिबानीले नियन्त्रणमा लिएका छन् । बघराम हवाइ मैदानबाट अमेरिकी सेनाले तालिबान र अलकायदा विरुद्ध दुई दशक हवाइ आक्रमण गर्ने गरेको थियो ।
गत केही वर्षदेखि तालिबान र अफगान सैनिकबिच पन्जवाई जिल्लालाई नियन्त्रणमा लिन पटक पटक सङ्घर्ष हुँदै आएको छ । कन्दहार प्रान्तलाई तालिबान समूहले आफ्नो जन्मभूमिका रूपमा लिने गरेको छ ।
पञ्जवाई जिल्लाका गभर्नर हास्ती मोहम्मदले तालिबान समूह र अफगान सेनाबिच रातभर गोली हानाहान भएको र बिहान अफगान सेनाले जिल्ला छाडेको जानकारी दिनुभयो । उहाँले तालिबान समूहले जिल्ला प्रहरी मुख्यालय र गभर्नरको कार्यालयलाई कब्जामा लिएको बताउनुभयो ।
कन्दहारका प्रान्तीय परिषद्का प्रमुख सइद जान खाक्रिवालले पनि पञ्जवाई जिल्ला तालिवानको नियन्त्रणमा गएको पुष्टि गर्दै सरकारी फौजले जानाजान जिल्ला छाडेको आरोप लगाउनुभयो ।
हालैका सातामा अफगानिस्तानका धेरै प्रान्तमा सङ्घर्ष भइरहेका छन् र देशका ४०० मध्ये १०० भन्दा बढी जिल्ला आफ्नो नियन्त्रणमा लिइसकेको तालिवानले दाबी गरेको छ । बघराम हवाइ मैदान खाली गरेसँगै तालिबान समूहले नयाँ क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिन थप सङ्घर्ष गर्ने अनुमान गरिएको छ ।
सरकारी फौजले बघराम हवाइ मैदानलाई आतङ्कवाद विरुद्ध लड्न प्रयोगमा ल्याइने बताएको छ । आफूहरूले विमानस्थलको राडार प्रणालीलाई पुनः सञ्चालनमा ल्याइसकेको सेनाले जनाएको छ । (रासस–एएफपी)