कञ्चनपुर । महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन् ।
बिरामीको उपचारमा सघाउ पुर्याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन् । महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२÷१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ ।
अस्पतालका नर्सिङ अधिकृत रमिला विष्ट महामारीको अप्ठ्यारोमा आफूहरूले कसरी काम गरेको भनेर कसैले नहेर्ने तर गुनासो र गाली मात्रै गर्ने गरेको तीतो यथार्थ सुनाउनुहुन्छ ।
‘पिपिई लगाएर काम गर्न कति गाह्रो हुन्छ । त्यो पनि १२/१२ घण्टासम्म’ उहाँले भन्नुभयो– ‘बिरामीको चाप अस्पतालमा बढेका बेला दिनरात नभनी सेवा गरेका छौँ । हप्ता हप्ता दिनसम्म घरपरिवारसँग भेट नगरी बिरामीकै सेवामा समर्पित भएर कार्य गरेका छौँ ।’
अस्पतालाले कोरोनाबारे शनिबार आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममै नर्सको व्यवहार नराम्रो भएको गुनासो सुनेपछि एकाएक बिचमै रोकिँदै आँखाबाट झर्न थालेको आँसु पुछ्दै उहाँले भन्नुभयो– ‘त्यसमा एकदुई जनाले कहिलेकाहिँ नराम्रो बोल्छन् । त्यसलाई ठुलो बनाएर हेर्न त भएन ।’
नर्सिङ अधिकृत विष्टको आँखामा आँसु आएपछि कार्यक्रममा सहभागी सबै भावुक देखिए । विष्टले आफूलाई सम्हाल्दै कोरोना बिरामीको उपचार गर्दा नर्सहरूको पीडा सुनाउनुभयो । बिरामीको उपचार गर्दागर्दै नर्स बेहोस भएर ढलेकोसमेत उहाँले बताउनुभयो ।
‘नर्सिङ स्टाफ १२/१२ घण्टासम्म खटिए, ड्युटीमा बेहोससम्म भए । गाली र गुनासो त कुरै छैन’ उहाँले भन्नुभयो– “त्यसबेला कसैले पनि तपाईंहरूले कसरी काम गरिरहनुभएको छ भनेर सोधेन । हामी पनि त मान्छे नै हो, बुझिदिनुहोला ।’
नर्सिङ अधिकृत विष्टले उपचारका क्रममा प्रत्येक भेन्टिलेटरमा दुई नर्स खटिएको र बिरामीको नास्ताखाना पु¥याउनसमेत आफूहरू व्यस्त हुनुपरेको बताउनुभयो ।
गलत नियतवश बिरामीको उपचारमा लापरवाही नहुने र कहिलेकाहिँ मानवीय कमजोरीका आधारमा हुने त्रुटिलाई देखाएर मनोबल खस्काउन नहुने नर्सिङ अधिकृत विष्टको भनाइ थियो ।
‘गुनासो र गाली हामीलाई मात्रै गर्छन् । त्यो हामीले मात्रै पाउनुपर्ने होइन होला’ उहाँले भन्नुभयो ।
कार्यक्रममा अस्पतालका चिकित्सक अर्जुन भट्टले नर्सको व्यवहार राम्रो नभएको भनेर गरिएको गुनासोले आफू मर्माहत भएको बताउनुभयो ।
‘महामारीमा ज्यानको पर्वाह नगरी खटिएका नर्सलाई आक्षेप लगाउने कार्य राम्रो होइन’ उहाँले भन्नुभयो– ‘यस्ता कुराले “हर्ट” गर्छ ।’
कोरोना महामारी बिरामीको उपचारमा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी गरी ८९ जना खटिएका थिए । उहाँहरूमध्ये सबैभन्दा बढी ५२ नर्स बिरामीको उपचारका खटिएका छन् । (रासस)
