काठमाडौं । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।
बिहीबार साँझ मोटरसाइकल चल्न मिल्ने गरी निर्माण गरिएको नयाँ डाइभर्सनमा ट्र्याक्टर फसेपछि राजमार्ग पुनः अवरुद्ध बनेको छ । बिहान साढे १० बजेदेखि राजमार्गको सो सडक अवरुद्ध भएको हो । गैँडाकोट–१० मा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरभद्र नाथले फसेको ट्र्याक्टर निकालेर डाइभर्सन मर्मतको काम भइरहेको जानकारी दिनुभयो ।
सुरक्षा निकायले जेसिबीको सहायताले एकतर्फी भए पनि सवारी साधन सञ्चालन गर्न मिल्ने गरी काम गरिरहेको नाथले बताउनुभयो । पूर्वपश्चिम राजमार्गको यस खण्डमा आज बिहानसम्म पनि सवारी साधन सञ्चालन हुन नसक्दा सडकमा पूर्व र पश्चिम जाने सवारी साधनको करिब चार किलोमिटर भन्दा लामो लाइन छ । राजमार्ग विस्तारका लागि साना पुल हटाएर नयाँ मोटरेबल पुल निर्माण गर्ने क्रममा सवारी साधन सञ्चालनका लागि बनाइएको डाइभर्सन बाढीले बगाएको थियो ।
गैँडाकोटको थुम्सी क्षेत्रमा निर्माण गरिएको २३ स्मृति पुलसहित विभिन्न चार स्थानको डाइभर्सन बाढीले बगाउँदा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो । लामो समयसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा पनि सवारी साधन सञ्चालन गराउने गरी प्रभावकारी ढङ्गले काम हुन नसकेको भन्दै चालकहरुले गुनासो गरेका छन् । सवारी साधन व्यवस्थापनका लागि ट्राफिक प्रहरीले पूर्व जाने सवारी साधनलाई डण्डा र पश्चिम जाने सवारीसाधनलाई गैँडाकोटतर्फ नै रोकेर राखेको छ । बाढीले बगाएको डाइभर्सन पुनःनिर्माण गरेर सवारी साधन सञ्चालन गर्नका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म, नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका कर्मचारी खटिएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ । बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध
यता, पहिरोका कारण तनहुँको डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा पनि बिहीबार ठूलो पहिरो खसेको थियो । उक्त ठाउँमा पहिरो हटाएर बिहीबारदेखि नै सडक एकतर्फी सञ्चालनमा आएको छ ।
पहिरोले लागेर दुई घाइते
यसैबीच तनहुँको भानु नगरपालिका–८ मा पहिरो खसेर दुई जना घाइते भएका छन् । पहिरोले सडक अवरुद्ध भएपछि पैदल हिँडेर पहिरो पार गर्दै गरेका दुई युवा पहिराले लागेर घाइते भएका हुन् । दुवै जना बेँसीशहर निवासी हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुवै घाइतेलाई उपचारका लागि बेँसीशहर लगिएको प्रहरीले जनाएको छ । (रासस)
