लिवाङ । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।
गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गन्ज क्षेत्रीले बताउनुभयो । यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको उहाँको भनाइ छ ।
‘सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो’ वडाध्यक्ष क्षेत्रीले भन्नुभयो– ‘कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार नगद दिइने छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।’
गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि वडालाई उपलव्ध गराएको रु. ७० लाख बजेटबाट सामाजिक सुरक्षाको यस्तो कार्यक्रम अघि सारेको हो । वडाले आगामी वर्षका लागि भौतिक पूर्वाधारभन्दा सामाजिक विकासलाई विशेष जोड दिने गरी योजना तथा कार्यक्रम अघि सारेको बताइएको छ ।
त्यस्तै वडाभित्रका दलित, अपाङ्ग र असहायका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रमसमेत अघि सारेको छ । गाउँपालिकाभित्र बसोबास गर्ने दुई सय सात दलित, अपाङ्ग र असाहायका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम अघि सारिएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि रु. एक लाख ३० हजार तथा दलित, अपाङ्ग र असहायको निःशुल्क स्वास्थ्य बिमाका लागि रु. सात लाख २५ हजार बजेट विनियोजन गरेको छ ।
त्यस्तै, वडाले शिक्षा र स्वास्थ्यलाई गरिब विपन्नवर्गको पहुँचसम्म पु¥याउन यस्तो कार्यक्रम ल्याइएको हो ।