बाग्लुङ । आगामी मंसिर १४ गते हुन लागेको उप निर्वाचनका लागि बाग्लुङ २(ख) मा प्रदेशसभा सदस्यका लागि खिमविक्रम शाहीको उम्मेदवारी दर्ता भएको छ । वामपन्थी दलहरुको साझा उम्मेद्वारका रुपमा रहेका राष्ट्रिय जनमोर्चाका नेता शाहीको प्रस्तावकमा धर्म कुँवर र समर्थकमा गौरिश्वर पाण्डे रहनुभएको छ ।

राजमोसहित नेकपाको संयुक्त जुलुशसहित बाग्लुङको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर शाहीको उम्मेद्वारी दर्ता गरेको हो । जुलुशमा राजमो अध्यक्ष चित्रबहादुर केसी, नेकपाका नेता एवं प्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेल, राजमोका पूर्व सचिव कृष्ण अधिकारी, नेता आनन्द शर्मा, राजमो बाग्लुङका अध्यक्ष अमर थापा लगायत नेता कार्यकर्ताहरुको ठुलो संख्यामा उपस्थिति रहेको छ ।

उम्मेद्वारी दर्तापछि युगदर्शनसँग संक्षिप्त प्रतिक्रिया दिँदै राजमो पूर्व सचिव कृष्ण अधिकारीले आफूहरु पहिलेको चुनाव भन्दा पनि अत्यधिक मतले विजयी हुने बताउनुभयो ।
‘हामीले केन्द्रबाटै निर्णय गरेर वामपन्थीको साझा उम्मेद्वारका रुपमा खिमविक्रम शाहीको उम्मेद्वारी दर्ता गरेका छौ’ अधिकारीले भन्नुभयो, ‘हामी पहिलेको निर्वाचनमा भन्दा पनि अझ अत्यधिक धेरै मत अन्तरले विजयी हुनेछौँ ।

नेता अधिकारीले नेकपा र राजमो दुबै दलको साझा प्रचार समिति बनाएर चुनाव प्रचार प्रसार गर्ने जानकारी दिनुभयो । नेकपासँग पहिलो चरणमा बैठक बसेर चुनाव प्रचारको सामान्य खाका तयार भएको र अब तत्काल दोस्रो चरणको बैठक पछि प्रत्येक वडामा चुनावी अभियान सञ्चालन गर्ने पनि अधिकारीले बताउनुभयो।
दुबै दलको संयुक्त चुनावी अभियानले फिल्डमा देखिएका साना तिना असन्तुष्टि हल हुने पनि नेता अधिकारीले विश्वास व्यक्त गर्नुभयो ।

राजमो र नेकपाबीच भएको चुनावी तालमेलको सहमति अनुसार बाग्लुङ २(ख) मा प्रदेश सभा सदस्य र प्युठानको ऐरावती गाउँपालिका वडा नं २ को वडाअध्यक्षमा राजमोले उम्मेद्वारी दिने सहमति भएको हो। बाँकी स्थानमा नेकपाका उम्मेद्वारलाई सघाउने नेता अधिकारीले बताउनु भयो ।
बाग्लुङ २(ख) मा यसअघि राजमो नेता टेकबहादुर घर्ती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । घर्तीको निधनपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको हो। प्युठानको ऐरावति–२ को वडा अध्यक्षको लागि राजमोले भक्त बहादुर विकलाई उम्मेदवार बनाउने बनाउने भएको छ । स्थानीय तहको मनोनयन कात्तिक २७ गते हुनेछ।
मंसिर १४ मा विभिन्न ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।