ब्रसेल्स । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन लायनले युरोपेली युनियनमा आबद्ध तीन मुलुकको कोभिड–१९ आर्थिक पुनरुद्धार योजनालाई अनुमोदन गरेको बताउनुभएको छ ।
आयोगले कोभिड–१९ पश्चात् इटाली, जर्मनी र लाटभियाको आर्थिक पुनरुद्धार योजनालाई स्वीकृत गरेको हो । आयोगकी अध्यक्ष लायनले तीनै मुलुकको भ्रमण पनि गर्नुभएको छ ।
इटालीमा श्री लायनले इटालीका प्रधानमन्त्री मारियो ड्रागीसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री ड्रागीसँगको भेटपछि ट्विट गर्दै लायनले इटालीका लागि ९० करोड अमेरिकी डलरको आर्थिक पुनरुद्धार योजना स्वीकृत गरेको बताउनुभएको छ ।
युरोपेली आयोगबाट सर्वाधिक ठुलो आर्थिक सहायता प्राप्त गर्नेमा इटली रहेको छ । आयोगका अनुसार इटालीले अनुदानबापत ६८.९ अर्ब युरो र ऋणबापत १२२.६ अर्ब युरो प्राप्त गर्ने छ ।
यसैगरी जर्मनीले स्वास्थ्य सेवा र सार्वजनिक प्रशासनको डिजिटलाइजेसनका लागि सहायता प्राप्त गर्ने छ । जर्मनीका चान्सलर एन्जेला मर्केलले जर्मनीले हाइड्रोजन, माइक्रोइलेक्ट्रोनिक्स, क्लाउड र डेटा प्रसेसिङका क्षेत्रमा लगानी बढाउने बताउनुभएको छ ।
आयोगकी अध्यक्ष लायनले लाट्भियाको आर्थिक पुनरुद्धार योजनाका बारेमा पनि घोषणा गर्नुभयो । गत वर्ष युरोपेली युनियनका नेताहरूले कोरोना महामारीको आर्थिक तथा सामाजिक असरलाई सम्बोधन गर्न व्यापक आर्थिक पुनरुद्धार कोष स्थापना गर्न सहमति जनाएका थिए । (रासस–सिन्ह्वा)