काठमाडौं । सल्यानको शारदा नगरपालिका ६ बरालास्थित शारदा नदीको टापुमा फसेका १२ जनाको सकुशल उद्धार गरिएको छ । नदीमा एक्कासी बाढी आएपछि बीचमा फसेका ९ पुरुष तथा ३ जना महिलालाई सशस्त्र प्रहरी टोलीले उद्धार गरेको हो ।
खेतमा रोपाई गर्न गएका उनीहरु नदीमा पानीको बहाव बढेपछि टापुमा फसेका थिए । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले विभिन्न निकायको सहयोगमा उनीहरुको सकुशल उद्धार गरिएको हो।
उद्धार गरिएका व्यक्तिहरुमा सल्यान जिल्लाको शारदा नगरपालिका ६ बस्ने ४० वर्षीय छविलाल विक, २० वर्षीय हिरालाल विक, ४० वर्षीया सुशिला गौरी, ४७ वर्षीया काली विक, १८ वर्षीया गिता गिरी, ५५ वर्षीय तेजबहादुर बस्नेत, ५६ वर्षीय शुकलाल गिरी, ४९ वर्षीय देविलाल विक, १४ वर्षीय मनोज विक, १७ वर्षीय दिपेन्द्र विक, ४६ वर्षीय कुमार विक र ४० वर्षीय प्रेमलाल विक रहेका छन्।
बालिकाको शव फेला
यता, दाउरा झिक्ने क्रममा कोशी नदीमा डुवेकी बालिकाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलुवास्थित कोशी नदीमा दाउरा झिक्ने क्रममा सोही ठाउँ बस्ने ८ वर्षीया अञ्जली यादव नदीमा डुवेकि थिइन् ।
सो खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश डलवाबाट खटिएको सशस्त्र प्रहरीले उनको शव नदीबाट बाहिर निकालेको हो ।