काठमाडौँ । अन्नपूर्ण पोस्ट दैनिकमा काम गरेका सात जना पत्रकारले त्यसबापतको बाँकी तलबभत्ता भुक्तानी र अवकाशपछिको सेवासुविधा दिलाइदिन माग गर्दै सूचना तथा प्रसारण विभागमा निवेदन दिएका छन् ।
यसरी निवेदन दिने पत्रकारहरूमा रामकृष्ण अधिकारी, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, उमा विष्ट, माधव छिनाल, विनय बञ्जारा र दीपककुमार घिमिरे रहेका छन् ।
उनीहरूले २०७६ चैत महिनादेखि यताको तलबभत्ता भुक्तानी हुन अझै बाँकी रहेको दावी गरेका छन् ।
ती पत्रकारले गत चैत ३ मा सामूहिक राजीनामा दिएका थिए । गत वैशाख २ मा उक्त राजीनामा स्वीकृत भएको थियो ।
यसअघि अन्नपूर्ण पोस्ट प्रशासनले पत्रिका वैशाख तेस्रो सातादेखि बन्द हुन सक्ने र अनलाइन चलाउने बताएको थियो । व्यवस्थापनले पत्रिका बन्द हुने भनेपछि पत्रकारहरूले राजीनामा दिएका थिए ।
आफूले काम गरेको बेलाको तलबभत्ता नै लिन बाँकी रहेकाले दिलाइदिन माग गर्दै राजीनामा दिइसकेका पत्रकारहरूले विभागमा निवेदन दिएका हुन् ।