महेश रिजाल, भालुबाङ ।।
कोरोना महामारीका कारण लकडाउनको मार खेपिरहेका राप्ती गाउँपालिकाको कर्णाली प्रदेशका रूपमा चिनिने वडा नं. १ को दुर्गम बगासोेती गाउँका अधिकांश मगर जनजाति बसोबास रहेको अतिविपन्न ४० घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ ।
उक्त खाद्य सामग्री युवा पत्रकार भिउसुन शाही, जमिर साह, महेश रिजाल र युवा सामाजिक अभियन्ताहरू विष्णु पान्डे, श्याम झाक्री, दिवस शाहीको सक्रिय पहल र समन्वयमा वितरण गरिएको हो ।
भालुबाङ घर भई हाल हङकङ बस्ने शङ्कर खड्काबाट रु १०,०००, ऐजन घर भई हाल दक्षिण कोरियाको राजधानी सिउल बस्ने बिष्णु खड्काबाट रु १०,०००, ऐजन भालुबाङ राप्ती गाउँपालिका– १ का वडाध्यक्ष ताराबहादुर डिसीकी पत्नी राधा डिसीबाट रु ६,५००, ऐजन भालुबाङ घर भई हाल खाडी मुलुक कतारमा कार्यरत ज्योति बज्राचार्यबाट आफ्नी पत्नी दिपा थापाक्षेत्रीको जन्मदिनको अवसरमा रु ३,१८०, ऐजन भालुबाङ बस्ने दिलमाया आलेबाट रु २,५००, ऐजन भालुबाङ घर भई हाल रुकुममा कार्यरत मुकुन्द पाण्डेबाट रु २,५००, राप्ती गाउँपालिका–१ पाखापानी निवासी निमराज न्यौपानेबाट रु. २,५००, ऐजन पाखापानी निवासी लक्ष्मी सुवेदीबाट रु १,०००, राप्ती गाउँपालिका–४ पिपरी बस्ने रामु मल्लबाट रु १,०५०, राप्ती गाउँपालिका–५ भानपुर निवासी पशुपति जिसीबाट रु २,००५ गरी जम्मा ४५,६३५ रुपियाबराबरको खाद्य सामग्री वितरण गरिएको छ ।
वितरित खाद्य सामाग्रीमा प्रतिघर–परिवार चामल १२.५ केजी, नुन १ केजी, दाल १ केजी, तेल ५०० मिलिलिटर, सोयाबिन १ पोका, साबुन १ पिस र मास्क रहेको छ ।