काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । आज २०७८ जेठ २१ गते शुक्रबार उनले संवैधानिक इजलास गठन गरेका हुन् ।
संवैधानिक इजलासमा प्रधान न्यायाधीश राणाको अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधान न्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिँदै यही जेठ २३ गते विवादको सुनुवाइका लागि पेशी तोक्नुभएको थियो ।
नेपालको संविधानमा सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका देखिएमा त्यस्तो मुद्दा हेर्ने गरी प्रधान न्यायाधीशले संवैधानिक इजलासमा न्यायाधीश तोक्ने व्यवस्था छ । इजलास सञ्चालन गर्न संविधानले सर्वोच्च अदालतलाई अधिकार दिएको छ ।
संवैधानिक इजलास गठन भएलगत्तै शुक्रबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश–२०७८ सम्बन्धी सुनुवाइ भइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ सो अध्यादेश जारी गर्नुभएको थियो । अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा छ वटा रिट निवेदन परेका छन् ।