काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दर्ता नै नभएको कोरोनिल नामक औषधि बुझेका छन् ।
Advertisement
भारतमा निकै विवादित रहेको आयुर्वेद संस्था पतञ्जलीले बनाएको १५ हजार कोरोनिल आयुर्वेदिक औषधि मन्त्री त्रिपाठीले आज २०७८ जेठ २१ गते प्राप्त गरेका हुन्।
पतञ्जलीले बनाएको उक्त कोरोनिल औषधि नेपालमा दर्ता नभएको औषधि व्यवस्था विभागले पुष्टि गरेको छ । दर्ता नै नभएको औषधि लिन र वितरण गर्न नमिल्ने विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिएका छन् ।
उनले भने– ‘यो कोरोनिल औषधि विभागमा दर्ता भएको छैन । उहाँहरूको प्रक्रियामै छ । तर स्वीकृति पाइसकेको छैन । दर्ता नभएको औषधि वितरण गर्न मिल्दैन ।’
यसअघि पनि औषधि व्यवस्था विभागले यो औषधि दर्ताका लागि अनुमति रोकेको थियो । कुनै पनि औषधि बिनादर्ता नेपाल ल्याउन नमिल्ने कानुनी व्यवस्था छ ।