धनवीर पुन, नयाँ दिल्ली ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतीय कम्यूनिष्ट पार्टी (माले) रेड स्टारका पोलिटब्यूरो सदस्य तथा पूर्वी भारत राज्य कमिटीका सेक्रेटरी शिवरामप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । भारतीय कम्युनिष्ट नेता शिवरामको कोरोना संक्रमणका कारण मे २८ का दिन निधन भएको हो ।
कोरोना संक्रमणबाट अस्वस्थ भएपछि ३ मे २०२१ का दिन भुवनेश्वरको किम्स हस्पिटलमा भर्ती हुनुभएको शिवरामको २८ मे राति ११ः२० बजे मृत्यु भएको भाकपा (माले) ले जनाएको छ ।
शिवरामले लामो समयदेखि शोषित–पिडितका पक्षमा लामो समयदेखि संघर्षरत हुनुहुन्थ्यो । पूर्वी भारत राज्यको उडीसा र झारखण्डलाई कर्मभूमि बनाई काम गर्नुहुने मजदुर नेता शिवरामले मजदुरहरुको हकहित तथा राष्ट्रिय अन्तर्राष्ट्रिय विषयसँग सम्बन्धित संयुक्त आन्दोलनमा सक्रिय सहभागि र भूमिका खेल्दै आउनु भएको थियो ।
शिवरामको दुःखद निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले शोक समवेदना प्रकट गर्नुभएको छ । महासचिव खनालले प्रकाशित गर्नुभएको शोक विज्ञप्तिमा शिवरामको निधनले श्रमजिवी जनताको पक्षमा चल्ने आन्दोलनलाई ठूलो धक्का पुगेको बताउनु भएको छ ।
यो अवस्थामा उहाँको पार्टी लगायत परिवारजनमा पर्न गएको शोकलाई क्रान्तिकारी भावनामा बदल्दै कम्युनिष्ट भविष्यको दिशामा अगाडि बढ्नु पर्ने आवश्यकतामा नेता ठाकुरले जोड दिनुभएको छ ।