काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर बाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गालाई हस्तान्तरण गर्नुभएको छ ।
पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराएको बताइएको छ ।
राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले अस्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेकोसमेत मासिङ्गालाई बताउनुभएको थियो । अमेरिका र नेपालबिच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै उहाँले कोरोना भाइरस विरुद्धको लडाइँमा पनि अमेरिकाको महत्त्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको बताउनुभयो । साथै उहाँले नेपाल सरकारले जोन्सन एन्ड जोन्सनको खोप जानसिन इन्फेक्सियस डिजिज एन्ड भ्याक्सिन्स फर्मास्युटिकल्स कम्पनीसँग खरीद गर्ने योजनमा रहेको मासिङ्गालाई जानकारी गराउनुभएको थियो ।
राजदूत खतिवडासँगको भेटमा मासिङ्गाले अमेरिकी सरकारले खोपको प्रक्रियालाई तदारुकताका साथ अगाडि बढाउने बताउनुभयो ।
भेटमा उहाँले नेपालमा कोरोना भाइरसले पारेका क्षतिका विषयमा गहिरो सहानुभूति राख्दै कोभ्याक्सअन्तर्गतको खोप कोभ्याक्स र द्विपक्षीय सम्झौतानुरूप नेपालले प्राप्त गर्ने अंश सम्भव भएसम्म छिटो उपलब्ध गराउने बताउनुभएको थियो । (एजेन्सी)