कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा एक नेपाली र एकजना भारतीय युवामाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा नेपाली युवा दीपक पाण्डे र भारतीय नागरिक ईयाज अख्तरमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
पाण्डे माओवादी केन्द्रका जिल्ला नेता तथा क्रसर व्यवसायीसमेत रहेको बुझिएको छ ।
राति ११ बजे मोटरसाइकल चढेर जगदीशपुरतर्फ जाँदै गरेको बेला तीनजनाको समूहमा रहेका अज्ञात ब्यक्तिले गोली प्रहार गर्दा ३५ वर्षीय पाण्डे सख्त घाइते भएका छन् । प्रहरीका अनुसार गोली प्रहार गर्नेहरु एउटै मोटरसाइकलमा तीन जना सवार थिए ।
प्रहरीका अनुसार पाण्डेको पेट र कम्मरमाथि दुईवटा गोली लागेको छ भने भारतीय युवा अख्तरलाई भने पाखुरामा एक गोली लागेको छ। उनीहरु दुबैको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।
घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।