काठमाडौँ । स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्माले बागलुङ बरेङ गाउँपालिकाको कोभिड कोषमा ५० पचास हजार रुपियाँ सहयोग गर्नुभएको छ ।
बागलुङको बरेङ गाउँपालिका हुग्दीसिरमा जन्मनुभएका दुर्गा शर्माले भर्खरै निधन हुनुभएकी आफ्नी ममतामयी आमा टीकाकुमारी शर्माको सम्झनामा गाउँपालिकाको कोभिड कोषमा सो सहयोग गर्नुभएको हो ।
यससँगै २०७८ वैशाख २३ गते ७९ वर्षको उमेरमा निधन भएको दुर्गा शर्माकी ममतामयी माताको सम्झनामा हाल रोजगारीका सिलसिलामा स्पेनमा रहनुभएका छोरा दुर्गा शर्मा, बुहारी प्रगति शर्माले बरेङ गाउँपालिकाको कोभिड कोषमा उक्त रकम सहयोग गर्ने पहिलो सहयोगी समेत बन्नुभएको छ ।
१९९९ माघ १५ मा जन्मनुभएकी शर्माकी ममतामयी आमा टीकाकुमारी शर्मा हालको बरेङ गाउँपालिका वडा नं. २ (साविक हुग्दिशिर गाविस वडा नं. ५) बाट २०५४ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट अत्यधिक मतले महिला वडासदस्यमा निर्वाचित हुनुहुन्थ्यो ।
टीकाकुमारीकी दुई छोरी, ४ छोरा,१ ० नाती, ६ नातिनी, ४ पनाति, ३ पनातिनी हुनुहुन्छ ।
शर्माका आफ्नी आमाको सम्झना यसरी गर्नुहुन्छ– “जति बेला गाउँमा महिला स्वास्थ्य स्वयम्सेविका थिएनन्, त्यतिबेला गाउँघरमा महिला प्रसुति गराउन उहाँकी आमा टीकाकुमारी पुग्नुहुन्थ्यो । उहाँ गाउँकी डाक्टर भनेर चिनिनुहुन्थ्यो । बाल्यकालमा पढ्ने वातावरण नहुँदा औपचारिक शिक्षा हासिल गर्न नपाए पनि उहाँले नयाँ पुस्तालाई पढाइप्रति निकै उत्प्रेरित गर्नुहुन्थ्यो । त्यति मात्र होइन, उहाँकै पहलमा पहिलो पटक गाउँमा प्रौढ शिक्षा सञ्चालनमा ल्याएर वृद्धवृद्धाले पनि पढ्नुपर्छ भन्ने जागरण ल्याइएको थियो । गाउँमा प्रसुति बिरामी महिलाका घरमा टीकाकुमारीको पछिसम्म खोजी हुन्थ्यो ।”
“यतिबेला विश्वभरि फैलिएको कोरोना महामारीले हाम्रो देश पनि आक्रान्त बनिरहेको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै देशैभरि थुप्रै नेपाली दाजुभाइ, दिदीबहिनीहरूले ज्यान गुमाउनुपरेको छ । ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमित भई उपचारको क्रममा हुनुहुन्छ” शर्माले अगाडि भन्नुभएको छ– यस दुखको घडीमा सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दै उपचाररत सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”
शर्माले आफ्नो फेसबुक पेजमा यी शब्दहरू पोस्ट गर्दै ‘यस्तो विषम परिस्थितिमा कोरोनाबाट सङ्क्रमित भई उपचारको निम्ति छट्पटिएका जनतामा सानोभन्दा सानो भए पनि सहयोग पुगोस् भनेर रू ५०,००० (अक्षरेपि पचास हजार रुपियाँ) बरेङ गाउँपालिकाको कोभिड कोषमा सहयोग गर्ने घोषणा गर्दछौँ’ भन्नुभएको छ ।
उहाँले थप लेख्नुभएको छ– “उक्त रकम आमा टीकाकुमारी शर्माको सम्झनामा हाम्रो परिवारको तर्फबाट स्पेन नेपाली एकता समाजमार्फत बरेङ गाउँपालिकालाई हस्तान्तरण गर्ने जानकारी गराउँछौँ ।”