पोखरा । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । प्रदेश समितिको शनिवार सम्पन्न भर्चुअल बैठकले रु. एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको हो ।
सुरुमा समिति पदाधिकारी, सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यबाट न्यूनतम रु. १५ हजारका दरले जम्मा गरी कोष स्थापना गर्ने निर्णय भएको महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।
कोषको सञ्चालन अध्यक्ष नारायण शर्मा नेतृत्वकै कार्यसमितिले गर्ने छ । कोषमार्फत प्राप्त ब्याज श्रमजीवी पत्रकारको हितमा खर्च हुने छ । त्यसैगरी महासचिव सुवेदीका नेतृत्वमा सचिव यदुनाथ बञ्जारा र कैलाशबाबु श्रेष्ठ तथा कोषाध्यक्ष राजेन्द्र न्यौपाने सदस्य रहेको पत्रकार कल्याणकारी कोष सञ्चालन कार्यविधि मस्यौदा समिति गठन गरिएको छ ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले श्रमजीवी पत्रकार लाभान्वित हुने हुँदा कोष स्थापनामा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
प्रदेश समिति सल्लाहकार दीपेन्द्र श्रेष्ठले पत्रकारको हितका लागि कोष स्थापना हुन सराहनीय भएको बताउनुभयो ।
महासङ्घ प्रदेश समितिले कोरोना उपचारका क्रममा निधन हुनुभएका पत्रकार गणेश पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।