काठमाडौं । गएको २४ घण्टामा नेपालमा ९ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयले २० हजार ७८९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको जनाएको छ ।
२० हजार ३६२ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३८ जना र ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ गरी ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो । आज काठमाडौं उपत्यकामा काठमाडौंमा ३ हजार २५०, ललितपुर ४४८ र भक्तपुरमा २२६ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज १६८ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यस्तै, ४ हजार ४४४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
आज देशभर १ लाख १ हजार ६३४ जना सक्रिय संक्रमित देखिएका छन् । यस्तै, १ हजार २४१ जना आईसीयूमा उपचाररत रहेकोमा २५८ जना भेन्टिलेटरमा रहेका छन् ।

