काठमाडौं । बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। मंगलवार दिउँसो पञ्चेश्वर गाउँपालिका–६ गड्मेश्वरमा से १ ज १८३ नम्बर जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ्ग लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा सोही वडाका जिप चालक २४ वर्षीय तेज बहादुर बोहरा, ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्बर सिंह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन्। घाइते हुने सोही ठाउँका ३५ वर्षीय मोहनसिंह भण्डारी, ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी, ५० वर्षीय खेमसिंह भण्डारी र २४ वर्षीय दिलिपसिंह भण्डारी रहेका छन्। जिप सडकबाट करीब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।