काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानदेखि लागू गरिएको निषेधाज्ञाका कारण उपत्यकाका सडक सुनसान बनेका छन् । ठाउँ ठाउँमा प्रहरीले अनुमति बिना चलेका सवारी साधनहरुमाथि कारबाही तीब्र बनाएको छ ।
तीनवटै जिल्ला प्रशासन कार्यालयहरूको निर्णयअनुसार सुरुमा एक हप्ताका लागि अर्थात् वैशाख २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
कडाइसाथ निषेधाज्ञा लागू गराउन बिहानैदेखि प्रहरी सक्रिय भएको छ। त्यसका लागि उपत्यकाका ५६ स्थानमा ट्राफिक र नेपाल प्रहरीले संयुक्त रूपमा चेकजाँच गरिरहेका छन् । निषेधाज्ञा कार्यन्वयनका लागि ३ जिल्लामा ३ हजार २ सय नेपाल प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
नियम उल्लंघन गर्ने सवारी साधनलाई प्रहरीले ‘होल्डिङ’ गरेर राखेको छ । यसअघिको लकडाउनमा जस्तो पैदलयात्रुलाई भने रोकिएको छैन । यद्यपी सवारी साधन नचल्दा मानिसहरुको आवतजावत निकै कम छ । अत्यावश्यक सवारी साधन भने निर्वाध चलेका छन् ।



















