काठमाडौं । देशका विभिन्न भागमा परेको चट्याङबाट चार जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार गएको २४ घण्टामा चार जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।
मोरङ, खोटाङ, भोजपुर र रौतहटमा चट्याङबाट एक/एक जना गरी चार जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार देशका विभिन्न जिल्लामा गरी चट्याङका १० वटा घटनामा मानवीय तथा भौतिक सम्पतिमा क्षति पुगेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–२ दलेली बस्ने वर्ष ४३ की महिला, खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–६ बासथला बस्ने वर्ष ६९ का पुरुष, भोजपुरको आमचोक गाउँपालिका–९ दुम्वाना बस्ने वर्ष १२ का बालक र रौतहटको गुजरा नगरपालिका–८ जैयराजपुर–७ पल्टुवाका वर्ष ४० का पुरुषको चट्याङबाट मृत्यु भएको हो ।
यस्तै, भोजपुरको आमचोक गाउँपालिका–७ बसाई टोल बस्ने वर्ष ३० की महिला, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ चिलाउनेका वर्ष १८ का दुई किशोर र सल्यान कालिमाटी गाउँपालिका–२ भानटाकुरास्थित एक घरमा पाहुना आएका वर्ष ३८ का पुरुष चट्याङ लागी घाइते भएका छन् ।
