काठमाडौं । धादिङबाट अवैध रुपमा भैरहवा लैजान खोजिएको करिब १० किलो अवैध गाँजा गाडी चालकको सहयोगमा प्रहरीले बरामद गरेको छ । चालक र सहचालकको मद्दतबाट प्रहरीले गाँजा तस्करी गर्ने दुई जनालाई नियन्त्रणमासमेत लिएको छ ।
मंगलबार (वैशाख ७ गते ) काठमाडौंबाट कपिलवस्तु तौलिहवाका लागि बिहान ५ः३० बजे छुटेको लु २ ख ४५ नम्बरको बसमा धादिङको घाटबेसीदेखि ५ किलोमिटर वर चढेका दुई यात्रीले भैरहवा लैजान लागेको गाँजा प्रहरीले बरामद गरेको गाडीका सहचालक अमर थापाले जानकारी दिनुभयो ।
सहचालक थापाका अनुसार भैरहवा जान भनी गाडीमा चढेका उनीहरुको साथमा एउटा बोरा थियो । सो बोरा गाडीको डिक्किमा राखि गाडी अगाडि बढ्यो । ४-५ किलोमिटर अगाडि घाटबेसी पुगेपछि ती व्यक्तिहरुले ‘हाम्रो काम यहीँ पर्यो, यो सामान भैरहवा बुद्धचोक पुर्याउनु, हाम्रो साउजी लिन आउछन् र दिनु’ भनी गाडी सहचालकलाई भने र गाडीबाट ओर्लिका थिए ।
उनीहरुको व्यवहार देखेर शंका लागि धादिङको मलेखुस्थित फुर्खेखोला प्रहरी बिटलाई जानकारी गराएको थापाले युगदर्शनसँग बताउनुभयो । प्रहरीले बोरा चेकजाँच गर्दा प्रतिबन्धित गाँजा फेला पारेको थियो ।
गाडीका चालक र सहचालककै मद्दतमा गजुरी प्रहरीले भैरहवा प्रहरीसँग समन्वय गरी तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको सहचालक थापाले जानकारी दिनुभएको छ । लु २ ख ४५ नम्बरको गाडीका मालिकसमेत रहेका थापाले लामो समयदेखि रुपन्देही–कपिलवस्तु लगायतका क्षेत्रमा युगदर्शन साप्ताहिक पत्रिका पुर्याउँदै आउनुभएको छ ।
