काठमाडौं । आज (चैत ७ गते) देखि कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा लिएकाहरूलाई दोस्रो डोज दिन सुरु गरिएको छ । पहिलो चरणमा पहिलो डोज लिएका अग्रपंक्तिमा खटिएकाहरूलाई आजबाट दोस्रो मात्र दिन लागिएको हो ।
पुरानो खोप कार्ड तथा परिचय झल्कने अन्य कार्ड लिएर आफूलाई पायक पर्ने खोप केन्द्रमा गई दोस्रो मात्रा खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गरेको छ । वैशाख ११ गतेसम्ममा ४ लाख ३८ हजार नागरिकलाई कोभिसिल्डको दोस्रो मात्रा लगाइने मन्त्रालयले जनाएको छ ।
काठमाडौं स्वास्थ्य कार्यालयले दोस्रो मात्राको खोप दिन १९ केन्द्र तोकेको छ । कार्यालयका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा खोप लगाउन सकिनेछ ।
यस्तै नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेज, क्षेत्रपाटी निशुल्क चिकित्सालय, हिमाल अस्पताल, जनमैत्री अस्पताल, स्तुपा अस्पताल, मदरल्यान्ड अस्पताल र ह्याम्स अस्पतालमा पनि दोस्रो डोज खोप दिइने कार्यालयले जनाएको छ। खोप लगाउने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ।
पहिलो चरणमा कहिले लगाएका कुन दिन जाने ?

भारतले सुरुमा अनुदान दिएको १० लाख, खरिद गरिएको १० लाख र कोभ्याक्स सुविधामार्फत प्राप्त साढे ३ लाख गरी नेपालमा साढे २३ लाख डोज कोभिसिल्ड भित्रिएको थियो । जसमध्ये पहिलो मात्राअन्तर्गत १६ लाख ७३ हजार डोज प्रयोग भइसकेका छन् । बाँकी ६ लाख डोज अहिले दोस्रो मात्राका रूपमा प्रयोग गर्न लागिएको हो ।