काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाइरहेको छ । महाशाखाले चोरी भएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर गरि २६ वटा मोटरसाइकल खोजतलास गरी बरामद गर्न सफल भएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरू तथा धादिङ, चितवान, मकवानपुर, बारा जिल्लाबाट चोरी भएका उक्त मोटरसाइकलहरू खोजतलास गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाउनु भएको हो ।
कार्यक्रममा बोल्नुहुँदै एसएसपी भट्टराईले महाशाखाले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीब्रता दिईरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अधिकांश मोटरसाइकलहरू एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाईएको छ भने चोरी भएका मोटरसाइकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाई वेचबिखन गर्ने गरेको पाईएको छ ।’
त्यसकारण सवारी धनीले सवारी साधन चोरी हुन सक्छ भनी सावधानी नअपनाउँदा सवारी चोरी भईरहेकोले सम्बन्धित सवारी धनी एवम् चालक स्वयम् जिम्मेवार भई पार्किङ गर्दा बिशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्नुपर्ने भट्टराईले सुझाव दिनुभयो ।
ट्राफिक प्रहरीले बिशेष सूचना संकलन गरि अपरेसनबाट मोटरसाइकलहरु बरामद गर्द्छन् भने चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गर्द्छन र अन्य अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको महाशाखाले जनाएको छ ।
यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।
चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा ‘लस्ट भेहिकल अप्लिकेसन’ मा लगईन गरेर निवेदन दिने सकिने व्यवस्था समेत ट्राफिक महाशाखाले गरेको छ ।