काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेला, सम्मेलनलगायत सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको छ । बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले भिडभाड हुने सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गर्नुभयो ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले संक्रामक रोग ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भिडभाड रोक्न आग्रह गरेको डा. गौतमले बताउनुभयो । नेपालमा पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
उपत्यकामा ६७ सहित देशभर १६२ जनामा कोरोना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन हजार १९ जनाको पीसीआर परीक्षण गर्दा १६२ जना संक्रमित भेटिएको जनाएको छ ।
मन्त्रालयलका प्रवक्ता प्राडा जागेश्वर गौतमले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०, ललितपुरमा १३ र भक्तपुरमा ४ गरी ६७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
आज देशभर एक हजार ४९३ जना सक्रिय संक्रमित रहेका पनि उहाँले जानकारी दिनुभयो । यस्तै, आज ३८ जना आईसीयूमा उपचाररत रहेकोमा ५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आज ५९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
गत सोमबारदेखि आजसम्म ४७० जना संक्रमित थपिएको डा. गौतमले जानकारी दिनुभयो । यो अवधिमा १० हजार १८१ जनाको परीक्षण गरिएको थियो ।

