काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१० बल्देधुरीमा होली खेल्ने क्रममा झडप हुँदा दुई जनाको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा ५ जना पक्राउ परेका छन् ।अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनीहरूको परिचय भने प्रहरीले खुलाएको छैन ।
आइतबार होली खेल्ने क्रममा भएको झडपमा निसिखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । उनीहरुको शव बाटोभन्दा करिब ५ सय मिटर तल फेला परेको थियो ।
घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले घटनाको कारण भने एक समूहकी युवतीलाई अर्को समूहका युवकले जबरजस्ती रङ दल्दा निस्किएको परिणामको रुपमा औँल्याएको छ ।
बडिगाड गाउँपालिका–१० का युवाहरू होली खेल्न बल्देधुरी पुगेका थिए । उक्त ठाउँमा निसिखोला गाउँपालिक–७ का युवाहरू पनि पुगेका थिए । बल्देधुरीमा पहिल्यै बडिगाड–१० का केही युवा र युवतीहरू होली खेलिरहेको र उक्त ठाउँमा गएर निसिखोलाका युवाहरूले युवतीलाई जबरजस्ती रङ दलेपछि झडप भएपछि दुई जनाको ज्यान गएको स्थानीयले बताएका छन् ।
