काठमाडौं । अनाहकमा ४० वर्ष भारतीय जेलमा बसेर छुटेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई भारतस्थित नेपाली दूतावासले आवश्यक सहयोग गर्ने जनाएको छ ।
भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले सोमबार ट्वीट गरी तिम्सिनाको ‘बाँकी प्रक्रिया’ मा सहयोग गर्ने बताउनुभएको छ । उहाँले ४० वर्ष लामो जेल यातनापछि दीपक घर पुगेकोमा सन्तोष व्यक्त गर्नुभएको छ ।
‘अनाहकको ४० वर्ष लामो जेल यातनापछि दुर्गाप्रसाद तिम्सिना ९दीपक जैसी० कोलकाताबाट घर पुगेकोमा सन्तोष लागेको छ । उनको रिहाइमा धेरैको सहयोग छ, धन्यवाद छ’, ट्विटमा उहाँले भन्नुभएको छ, ‘अगाडि पनि बाँकी प्रक्रियामा, नेपाली दूतावास र कोलकातास्थित महावाणिज्य दूतावासले पनि आवश्यक सहयोग पुऱ्याउने नै छन् ।’
शनिबार कोलकाताको जेलबाट रिहा भएका तिम्सिना आइतबार इलामस्थित घरमा आइपुगेका थिए । चालिस वर्षदेखि भारतीय जेलमा उनलाई विना अभियोग राखिएको थियो ।
लामो समयदेखि विदेशको जेलमा अनाहकमा नेपालीले यातना पाउँदासमेत सरकारी निकायहरु बेखबर बनेकोप्रति सरकार र सम्बन्धित निकायहरुको आलोचना भइरहेका बेला राजदूत आचार्यको यस्तो भनाई आएको हो ।
तर उहाँले गर्ने भनेको सहयोग कस्तो खालको हो भन्ने खुलाइएको छैन । यसैबीच कोलकाता उच्च अदालतले तिम्सिनाको परिवारले क्षतिपूर्ति लिन चाहे दिनु भन्ने फैसला सुनाएको छ ।
अनाहकको चालिस वर्ष लामो जेल यातनापछि दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) कोलकाताबाट घर पुगेकोमा सन्तोष लागेको छ।
उनको रिहाईमा धेरैको सहयोग रहेको छ, धन्यवाद छ।
अगाडि पनि बाँकी प्रक्रियामा, नेपाली दूतावास र कोलकतास्थित महावाणिज्य दूतावासले पनि आवश्यक सहयोग पुऱ्याउने नै छन्।
शुभ होस्।— Nilamber Acharya (@nilacharya) March 22, 2021
यो पनि…… ४० वर्ष भारतीय जेलमा बसेर घर आएका दीपक भन्छन् : म निर्दोष थिएँ