काठमाडौं । गोप्य रुपमा अश्लिल भिडिओ खिचेर ब्ल्याकमेलिङ गर्ने तीन जना पक्राउ परेका छन् । काठमाडौंको एक गेस्टहाउसमा दुई जना पुरुषलाई बोलाएर अश्लिल हर्कत गरी गोप्य भिडिओ खिचेर पीडितसँग ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एक पुरुष र दुई महिला रहेका छन् । जाजरकोटको भेरी नगरपालिका–६ घर भइ हाल गोंगबु बस्ने वर्ष २८ की संगीता शाह (रितु), सिन्धुपाल्चोकको साँगाचोकगढी–१२ घर भइ गोंगबु बस्ने वर्ष २१ की सुस्मिता गिरी र नुवाकोटको ताडी गाउँपालिका–६ घर भइ हाल स्वयम्भु बस्ने २१ वर्षीय शंकर खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले कपन र इमाडोल बस्ने दुई पुरुषलाई चावहिलस्थित एक गेस्टहाउसमा बोलाएर कोठाभित्र सँगै बसेको र अश्लिल हर्कत गरी साथीलाई गोप्य तरिकाले भिडिओ खिच्न लगाई सो भिडिओ पीडितलाई बठाएर बार्गेनिङ गरेको प्रहरीले जनाएको छ ।
त्यसक्रममा आठ लाख रुपैयाँ नगद तथा शंकर खनालको नाममा रहेको बैंक खातामा पाँच लाख रुपैयाँ राख्न लगाएको प्रहरीको भनाई छ ।
