काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । चिकित्सकहरुको टिमले रुपन्देहीका एक ब्यक्तिको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको हो ।
शुक्रबार राति अस्पतालका सर्जन डा.रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सक टोलीले रुपन्देहीका ५० वर्षका एक व्यक्तिलाई सफल ढंगले कलेजो प्रत्यारोपण गरेको हो।
यसअघि गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो पटक पनि त्रिवि शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण गरिएको थियो । कलेजो प्रत्यारोपण कार्यमा नेपाली डाक्टर तथा नर्सहरुको टोलीलाई भारतीय डाक्टरहरुले सघाएका थिए ।
नेपालमा कलेजो प्रत्यारोपण सेवाको अनुमति चार वटा अस्पतालले पाएका छन् । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, चितवनको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजले अनुमति पाएका हुन् । मानव अंग प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक २०७३ मंसिर २२ गते कलेजो प्रत्यारोपण गरेको थियो ।
टिचिङ अस्पतालले यसअघि १८ जेठ र ३ साउनमा गरी दुई बिरामीमा कलेजोको सफल प्रत्यारोपण गरेको थियो । कलेजो प्रत्यारोपणमा करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ ।