प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।।
अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले देशमा राजनीतिक अस्थिरता ठुला दलको कारणले उत्पन्न भएको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा काठमाडौँको आयोजनामा २०७७ माघ ३ गते गोङ्गबुमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘ठुला राजनैतिक दलकै कारण राजनीतिक अस्थिरता उत्पन्न भएको हो ।’
संविधान सभा सदस्यसमेत रहिसक्नुभएकी पुनले सम्बोधनको क्रममा साना दललाई राजनीतिक स्थिरताको बाटोमा बाधक भएको तर्क गर्दै संविधान सभामा १० प्रतिशतसम्म थ्रेसहोल्ड राख्ने प्रस्तावमा छलफल भएको स्मरण गर्नुभयो ।
‘आज हेर्नुभयो नि !’ उहाँले भन्नुभयो– ‘जनताले देशमा राजनीतिक स्थिरता कायम होस् भनेर तत्कालीन एमाले र माओवादीलाई दुईतिहाइ बहुमत दिए; तर, ओलीले भने जननिर्वाचित प्रतिनिधि सभा नै विघटन गरिदिए ।’
महिला नेतृ पुनले यसभन्दा अघि नेपाली काङ्ग्रेसले दुई पटक र तत्कालीन नेकपा (एमाले) ले एक पटक संसद विघटन गरेर राजनीतिक अस्थिरता निम्त्याएको बताउँदै भन्नुभयो– ‘यसबाट प्रष्ट हुन्छ, वास्तवमा राजनीतिक अस्थिरताको कारक तत्त्व ठुला दल नै हुन् ।’
सम्बोधनको क्रममा उहाँले केपी ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई जनमतमाथि विश्वासघातको सङ्ज्ञा दिनुभयो ।
‘जननिर्वाचित प्रतिनिधि सभा विघटन गरेर ओली सरकारले जनताको राजनीतिक दलमाथि विश्वासघात गरेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘जनताप्रतिको त्यो विश्वास पुनः बहाल गर्न तत्कालै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्दछ ।’
उहाँले सरकारले घोषणा गरेजस्तो अहिले देश चुनावमा जाने अवस्थामा नरहेको बताउनुभयो ।
‘चुनावमा जाँदा लाग्ने खर्च बचाएर कोरोना सङ्क्रमणबाट सिर्जित समस्यामा अलिकति भए पनि मल्हम लगाउन सकिन्छ’ उहाँको भनाइ थियो ।

देशमा अझै पनि गणतन्त्र संस्थागत भइनसकेको, सीमा अतिक्रमण भइरहेको, धर्म निरपेक्षतामाथि प्रहार भइरहेको, भ्रष्टाचार बेलगाम बढिरहेको, महङ्गीले चरम रूपमा उचाइ छोइरहेको बेलामा हठात् प्रतिनिधि सभा विघटन गर्ने कार्यले देशमा गम्भीर परिस्थिति निर्माण भएको उहाँको भनाइ थियो ।
सङ्घीयता अनावश्यक भएको जनता आफ्नै अनुभवले बुझ्न थालेको बताउँदै पूर्व सांसद पुनले भन्नुभयो– ‘विदेशी ऋणले प्रशासनिक खर्च चलाउने हाम्रोजस्तो देशमा सङ्घीयता नेपाली जनताले थेग्न सक्दैनन् ।’
उहाँले तत्कालै सङ्घीयतालाई खारेज गरेर सात वटा प्रदेशसभालाई प्रशासनिक एकाइको रूपमा रूपान्तरण गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष लालबहादुर थापा, अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डे र नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्यहरू घनश्याम न्यौपाने, लक्ष्मी केसी र सुधा शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रम, अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगर, जातीय समता समाजका भक्त विक, अखिल नेपाल खेलकुद महासङ्घका संयोजक पृथ्वी थापा र अखिल नेपाल किसान महासङ्घ (अप्फा) काठमाडौँका अध्यक्ष केबी घलेको पनि आतिथ्यता रहेको थियो ।
राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेको अध्यक्षता तथा सचिव छवि खनालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो काठमाडौँकी सदस्य ऋतु केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रमले गीत तथा कलाकारहरूले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चा काठमाडौँको आयोजनामा माघ ६ गते सामाखुशी, माघ १० गते बसुन्धरा, माघ १६ गते नयाँ बसपार्क, माघ १७ गते कलंकी, माघ २४ गते चाबहिल, माघ २७ गते कोटेश्वर र माघ ३० गते जुलुससहित रत्नपार्कस्थित शान्तिवाटिकामा जनसभा गरी माघ महिनाको संघर्षका कार्यक्रम समापन गरिने जनाइएको छ ।
यो पनिः
काठमाडौंको गोंगबुमा राजमोको विरोध सभा हुँदै
राजमो काठमाडौंले तय गर्यो संघर्षका कार्यक्रम
प्रतिक्रियावादी र उग्रवामपन्थीहरु अन्ततः एकै ठाउँमा मिल्न जान्छन् : सिंह