काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टीको नाममा रहेका बैंक खाताहरु रोक्का राख्न माग गरेको छ । देशभरका बैंक तथा वित्तिय संस्थामा रहेका खाता रोक्का राख्न माग गर्दै सो समूहले पत्राचार गरेको हो ।
देशभर पार्टीको खातामा बिभिन्न बैंक र शाखामा रहेको सम्पूर्ण बचत रोक्का गर्न पत्राचार गरिएको पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन आयोगबाट पार्टीको नाम र चुनाव चिन्हबारे निर्णय नआएसम्म र अदालतको फैसला नआएसम्म खाता रोक्का गर्नु भनी पत्राचार गरिएको छ । नेकपाका नाममा बैंक खाताहरु देशव्यापीरुपमा कहाँ केकस्तो अवस्थामा छन् सबै जानकारी नआएको पाण्डेको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सो कदमलाई असंवैधानिक भन्दै त्यसको पुनर्स्थापनाको माग गरी सर्वोच्च अदालतमा रिट परेको छ भने निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको लागि पनि निवेदन गरिएको छ । आयोगले पार्टीको नाम र चुनाव चिन्हबारे निर्णय नगर्दासम्म कुन चाहिँ पक्ष वैधानिक नेकपा भन्ने टुंगो लाग्ने छैन ।
