बर्दिया । प्रतिनिधि सभा विघटनको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले बारबर्दिया नगरपालिकाको जयनगरमा विरोध सभा गरेको छ ।
‘राष्ट्रियता, गणतन्त्रको रक्षा, धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता खारेजी र भ्रष्टाचारको बिरोध गरौँ, ओली सरकारको असंवैधानिक कदमको विरोध गरौँ’ भन्ने नाराका साथ आइतबार विरोध सभा आयोजना गरिएको हो ।
विरोध सभालाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेयले नेकपा र कांग्रेसले राज्य सत्ताको दुरुपयोग गरि नेपाली जनतालाई गरिब दुःखी र बेरोजगारी बनाएको आरोप लगाउनु भयो ।
उहाँले पटक पटक सत्तामा गएर जनताको जीवन परिवर्तन होइन आफ्नो परिवर्तन गरेर शासन कालमा भ्रष्टाचार, कालो बजारी, माफीयातन्त्र बाहेक जनतालाई केही दिन नसकेको बताउनु भयो । नेता पाण्डेले जबसम्म नेकपा र कांग्रेस पार्टीलाई जनताले कमजोर र राष्ट्रिय जनमोर्चालाई बलियो बनाउँदैनन्, तबसम्म जनताको जीवनमा परिवर्तन र मुलुकमा सुशासन नआउने बताउनु भयो ।
त्यस्तै, अखिल नेपाल किसान महासंघका महासचिव तुल्सीराम सापाकोटाले नेपालमा संघीयता खारेज गर्ने बेला आएको बताउनु भयो । उहाँले किसानलाई वीऊ, मल दिन नसक्ने सरकारले संघीयतको नाममा आफ्ना कर्याकर्तालाई भर्तिकेद्र बनाएको आरोप लगाउनु भयो ।

विरोध सभामा राजमो बर्दियाका जिल्ला सचिव लोकबहादुर रानाले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नुमलाल रेग्मी तथा अध्यक्षता ललित जिसीले गर्नु भएको थियो ।