काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले १२८औँ माओ दिवसका अवसरमा सम्पूर्ण जनतामा शुभकामना दिएको छ ।
आज (शनिबार) माओ दिवसका सन्दर्भमा महामन्त्री मोहनविक्रम सिंहले प्रेसित गर्नुभएको वक्तव्यमा माओले क्रान्तिको नयाँ विचारलाई अगाडि ल्याउनु नै तेश्रो विश्वका मुलुकहरुको क्रान्तिको अवस्थामा सबैभन्दा ठूलो उपलब्धी भएको उल्लेख गर्नुभएको छ ।
वक्तव्यमा माक्र्सवाद–लेनिनवाद–माओविचारधारा विश्वका मिहेनतकश जनताको मुक्ति र स्वतन्त्रताका लागि हुने क्रान्तिको दर्शन र सिद्धान्त भएकोले माओका क्रान्तिका योगदानको भविष्यमा अझ अर्थपूर्ण औचित्य बढेर जाने कुरा स्पष्ट नै छ ।
महामन्त्री सिंहले विश्वका सबै क्रान्तिकारी जनसमुदायलाई माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको क्रान्तिको झण्डामुनि गोलवन्द हुन आव्हानसमेत गर्नुभएको छ ।
वक्तव्यमा भनिएको छः
१२८ औँ माओ दिवसको उपलक्ष्यमा हामीले साम्राज्यवादका विरुद्ध संघर्ष गरिरहेका विश्वका सम्पूर्ण मिहेनतकश जनताको क्रान्तिकारी आन्दोलन, संघर्ष तथा सामाजिक परिवर्तनको अभियान लगातार रुपमा अगाडि बढिरहन शुभकामना व्यक्त गर्दछौँ । साथै हामीले अन्तिम विजय मिहेनतकश जनताको नै हुने कुराप्रति आशा र विश्वास व्यक्त गर्दछौँ ।
माओले क्रान्तिको नयाँ विचारलाई अगाडि ल्याउनु नै तेश्रो विश्वका मुलुकहरुको क्रान्तिको अवस्थामा सबैभन्दा ठूलो उपलब्धी थियो । त्यसका साथै माओले राजनीतिक, आर्थिक, दार्शनिक आदि पक्षमा दिएको योगदान विश्वका सबै माक्र्सवादी–लेनिनवादी तथा क्रान्तिकारीका लागि महत्वपूर्ण मार्गदर्शन र प्राप्ति भएको कुरा पनि स्पष्ट छ । त्यसरी माओको क्रान्तिको नयाँ सिद्धान्त माओविचारधाराको रुपमा स्थापित हुन गएको थियो ।
गरिब किसान र खेत मजदुर वर्गलाई नयाँ जनवादी क्रान्तिको आधारभूत वर्ग तथा मध्ययम किसान, धनी किसान, बिभिन्न पेशामा संलग्न रहेका बिभिन्न निम्नपुँजीपति वर्गका साथै राष्ट्रिय पुँजीपतिवर्ग नयाँ जनवादी क्रान्तिका मित्रशक्ति भएको कुरा सैद्धान्तिक रुपमा स्पष्ट गर्दै व्यवहारिक जीवनमा पनि पुष्टि गर्ने काम चिनीयाँ क्रान्तिले गरेको थियो । त्यसरी कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिब किसान र खेत मजदुरका साथै मध्यम, धनी किसानवर्गका साथै बिभिन्न निम्न पुँजीपति तथा राष्ट्रिय पुँजीपतिवर्गले नयाँ जनवादी क्रान्तिको लागि खेल्ने भूमिका धेरै उच्च र महत्वपूर्ण भएको कुरा उक्त क्रान्तिको अनुभवले विश्वको सामू पुष्टि गरिदिएको थियो ।
माओद्वारा क्रान्तिका बिभिन्न चरण र वर्गीय भूमिकाका आधारमा नयाँ जनवादी क्रान्तिको चरित्रलाई सही विश्लेषण गरिएको थियो र त्यसरी नै क्रान्तिको त्यो नयाँ मान्यतालाई अगाडि बढाउने काम भएको थियो । क्रान्तिको यो सिद्धान्त अर्धऔपनिवेशिक र अर्धसामन्ती सामाजिक व्यवस्था भएका मुलुकको सामाजिक परिवर्तनको कार्यका लागि मार्गदर्शक मूल्यको रुपमा रहँदै आएको छ र त्यसलाई कार्यान्वयन गर्ने प्रयत्न पनि भइरहेको छ ।
सामाजिक वर्गहरुको विश्लेषण सहित क्रान्तिका मित्रशक्ति र दुश्मनशक्तिको चरित्र र वर्गीय धरातलको स्थितिलाई प्रष्ट गर्नु, प्रधान दुश्मनका विरुद्ध संयुक्त मोर्चाको निर्माण, साम्राज्यवादका विरुद्धको संयुक्त मोर्चा गाउँबाट शहर घेर्ने रणनीतिसम्बन्धी क्रान्ति विज्ञानको विकास गर्नु, छापामार सैनिक विज्ञानलाई अस्तिवमा ल्याउनु, कम्युनिस्ट पार्टीभित्रका अन्तर्विरोधको हलबारे सिद्धान्तको सृजनात्मक विकास हुनु, सामाजिक अन्तर्विरोधबारे सही दृष्टिकोण अगाडि सार्नु, सांस्कृतिक दृष्टिकोण, विचार, धारणा र व्यवहारमा पनि परिवर्तनका लागि सर्वहारा सांस्कृतिक क्रान्तिको आवश्यकता औँल्याउनु, उदारवादको विरोध गर्नु, दक्षिणपन्थी अवसरवाद तथा संशोधनवादका विरुद्ध महान वैचारिक संघर्ष गर्नु आदि माओविचारधाराले विश्व कम्युनिस्ट आन्दोलनमा दिएका महत्वपूर्ण योगदान हुन् । आजको क्रान्तिको युगमा पनि यी योगदानको उत्तिकै महत्व रहेको छ र भविष्यमा समेत त्यो महत्व अझ बढेर जाने कुरा स्पष्ट छ ।
आज विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । वर्गसंघर्षको दौरानमा विश्व कम्युनिस्ट आन्दोलनले त्यसप्रकारको अवस्थाको सामना गर्नु परेको भएतापनि त्यो अस्थायी कुरा हो । विश्वमा मुक्ति र स्वतन्त्रताका लागि लगातार रुपमा संघर्ष भइरहेका छन् र ती कार्यहरुले अन्तमा कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाएर लैजाने कुरामा कुनै शंका छैन । अन्तिम विजय मिहेनतकश जनताको नै हुनेछ र साम्राज्यवाद परास्त हुनेछ । माक्र्सवाद–लेनिनवाद–माओविचारधारा विश्वका मिहेनतकश जनताको मुक्ति र स्वतन्त्रताका लागि हुने क्रान्तिको दर्शन र सिद्धान्त भएकोले माओका क्रान्तिका योगदानको भविष्यमा अँझ अर्थपूर्ण औचित्य बढेर जाने कुरा स्पष्ट नै छ ।
हामीले माओदिवसको अवसरमा यो भन्न चाहन्छौँ कि साम्राज्यवाद, सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद सहितका क्रान्तिका बिभिन्न दुश्मनका साथै दक्षिणपन्थी संशोधनवाद, अवसरवाद, मध्यपन्थी अवसरवाद, वामपन्थी संकीर्णतावाद र नयाँ नयाँ रुपमा अगाडि आउने विभिन्न प्रकारका भड्कावका विरुद्ध सम्झौताहीन संघर्ष गरेर नै माक्र्सवाद–लेनिनवाद र माओविचारधाराको बाटोमा हामी अगाडि बढ्न सक्ने छौँ । यसका लागि हामीले विश्वका सबै क्रान्तिकारी जनसमुदायलाई माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको क्रान्तिको झण्डामुनि गोलवन्द हुन आव्हान गर्दछौँ ।
अजेय माक्र्सवाद–लेनिनवाद–माओविचारधारा : जिन्दावाद
२०७७ पौष ११ गते
मोहनविक्रम सिंह
महामन्त्री