काठमाडौं । सत्तारुढ दल नेकपाको विभाजनलाई रोक्ने प्रयास गर्दै आएकी चिनियाँ राजदूत होउ यान्छिले पुनः आफ्नो सक्रियता बढाएकी छन् । नेकपा औपचारिक रुपमा विभाजन हुँदै गर्दा यान्छिको भेटघाट बाक्लिएको छ ।
राजदूत यान्छिले बुधबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् । प्रचण्ड निवास खुमलटार पुगेकी यान्छिले प्रचण्डसँग किन पार्टी फुटाउनुभएको हो ? अब एक हुने सम्भावना छ कि छैन ? जस्ता प्रश्न गरेको स्रोतले जनाएको छ ।
जवाफमा प्रचण्डले यो अवस्था आउनुमा प्रधानमन्त्री केपी ओली जिम्मेवार रहेको बताएका थिए । प्रचण्डले हरेक पटक आफू नै झुक्दै आएको र यसपटक ओलीले राजनीतिक मर्यादाको सीमा नै नाघेको भन्दै यान्छीसँग गुनासो गरेका थिए ।
यसअघि राजदूत यान्छिले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन् । कोभिड–१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुराकानी गरेको बताइएपनि राष्ट्रपतिसँग नेपालको बदलिँदो राजनीतिक परिस्थितिबारेसमेत कुरा भएको बताइएको छ ।
केही समयअघि नेकपा फुटको संघारमै पुगेको बेला राजदूत यान्छिले भेटघाट बढाएकी थिइन् । यान्छिकै सक्रियतामा नेकपा फुटबाट जोगिएको चर्चा हुने गरेको थियो । तर यसपटक भने यान्छिको त्यस्तो सक्रियता नदेखिएपनि नेकपामा विभाजन भएलगत्तै फेरि भेटघाट थालेकी हुन् ।
