काठमाडौँ । सत्तारूढ नेकपाको बहुमत पक्षले पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधव नेपाललाई नयाँ अध्यक्ष बनाएको छ । प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठकले अध्यक्ष ओलीलाई कारबाही गरेर पार्टी अध्यक्षबाट हटाएको हो ।
बबरमहलमा जारी प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गरेको हो । बैठकले ओलीलाई पार्टी, सङ्गठन, संविधान र देशको हित विपरीत कार्य गरेको आरोपमा पदबाट हटाएको हो ।
नेकपाको ४४६ सदस्यीय केन्द्रीय समितिमा हाल ४४१ सदस्य कायम रहेको बताइएको छ भने आज मङ्गलबार बबरमहलमा जारी सो बैठकमा ३०० भन्दा बढी सदस्यहरू उपस्थित रहेको बताइएको छ ।
यसअघि ओली समूहले बेग्लै बैठक बसेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ भने आगामी मङ्सिर २ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।