काठमाडौं । प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ जना सांसद सर्वोच्च अदालत जाने भएका छन् । सरकारको सिफारिसमा आइतबार विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै उनीहरु सर्वोच्च अदालत जाने तयारी गरेका हुन् ।
सुरेन्द्र पाण्डे, देव गुरुङ, कृष्णभक्त पोखरेललगायतका नेताहरुले सो प्रक्रियाको अगुवाई गरेका नेकपा केन्द्रीय सदस्य एवम् विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीले जानकारी दिनुभयो ।
आजै, अधिवक्ता दिनेश त्रिपाठी, गोबिन्द बन्दी लगायत कानुन व्यवसायीहरुले पनि सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन् ।
ओली– प्रचण्ड पक्षधरको छुट्टाछुट्टै भेला
यसैबीच आज प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताहरुको छुट्टाछुट्टै भेला भइरहेको छ ।
बालुवाटारमा भएको आफू पक्षधर भेलामा प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुपर्नाको कारण स्पष्ट पार्नुभएको थियो । भेलामा पूर्व माओवादी नेता एवम् उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट लगायत सहभागी हुनुहुन्थ्यो ।
यता, आजै अर्का अध्यक्ष प्रचण्ड एवम् वरिष्ठ नेता माधव नेपाल समूहले पनि आफू पक्षधर सांसदहरुको भेला र त्यसपछि स्थायी समिति बैठक बोलाएको छ । प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री ओलीले अनैतिक एवम् असम्बैधानिक काम गरेको भन्दै पार्टीबाट कारबाही गर्ने सार्वजनिक गरिसकेको छ ।