काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले उखुकिसानका उखुबापतको बक्यौता रकम क्षतिपूर्ति र ब्याजसहित भुक्तानी गर्न माग गरेका छन् । २०७७ पुस १ गते संयक्त प्रेसवक्तव्य जारी गर्दै उहीहरूले यस्तो माग गरेका हुन् ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा चिनी मिलका मालिकहरूले ऊखुकिसानसँग गरेको सम्झौताको पालना नगरेको तथा सरकारले समेत किसानप्रति उपेक्षापूर्ण र गैरजिम्मेवार व्यवहारको गरेको घोर विरोध गरिएको छ ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“सरकारले गत वर्ष सम्झौता गरेर चिनी मिलले उखुकिसानलाई वर्षौंदेखि झुलाएर तिर्न बाँकी राखेको कारोडौँ बक्यौता रकम तत्काल असुलउपर गरेर किसानलाई दिने आश्वासन दिएकोमा सरकारले त्यसप्रति कुनै वास्ता नगरेपछि पुनः सर्लाहीका ऊखुकिसानहरुले काठमाडौँ माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका छन् । उनीहरूको त्यो जायज र न्यायोचित आन्दोलनप्रति चार किसान सङ्गठन अखिल अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घको तर्फबाट सम्पूर्ण किसिमले विगतमा जस्तै पुनः ऐक्यबद्धता जनाउँछौँँ; र, आफैले ऊखुकिसानसँग गरेको सम्झौताको पालना नगरेकोमा सरकारको यस्तो किसानप्रतिको उपेक्षापूर्ण र गैरजिम्मेवार व्यवहारको घोर विरोध गर्दछौँ ।
हामी उखु किसानको तिर्न बाँकी रकमको हर्जना र ब्याजसहित तत्कालै असुल गरियोस्; र, किसानमाथिको अन्यायको अन्त्य गरियोस् । बक्यौता राख्ने र किसानलाई झुलाउने चिनी मिलका सञ्चालकमाथि कडा कारबाही गरियोस् तथा बन्द भएका सरकारी चिनी मिल खोलेर सञ्चालन गरियोस् । उखुकिसानलाई प्रोत्याहन दिन ऊखुखेतीका लागि निर्ब्याजी ऋण दिने प्रबन्ध गरियोस् । लागतमा कम्तीमा ५० प्रतिशत थप गरी उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गरियोस् । उखु खरिद गरेकै समयमा त्यसको भुक्तानी किसानलाई दिने प्रबन्ध गरियोस् तथा ऊखुबालीमा रोग किरा लागेर र प्राकृतिक प्रकोपले नोक्सानी भएमा क्षतिपूर्ति दिने व्यवस्था गरियोस् भन्नेसमेत हामी जोडदार माग गर्दछौँ ।”